दफा
उत्पादकको दायित्व
(१) उत्पादकले वस्तु वा सेवा उत्पादन गर्दा प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछः-
(क) गुणस्तरीय वस्तु वा सेवा उत्पादन गर्ने,
(ख) वस्तुको लेबल निर्धारण गर्ने,
(ग) लेबलमा दफा ६ बमोजिमका कुरा उल्लेख गर्ने,
(घ) तुटिपूर्ण उत्पादन नगर्ने,
(ङ) आफूले उत्पादन गरेको वस्तु त्रुटिपूर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारीमा आएमा त्यस्तो वस्तु सङ्कलन गरी नष्ट गर्ने,
(च) वस्तु वा सेवाको उत्पादनका कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिब क्षतिपूर्ति दिने,
(छ) वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने,
(ज) दुई वा दुईभन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको उपभोक्तालाई जानकारी दिनु पर्ने,
(झ) कानून बमोजिम तोकिएका अन्य शर्त पूरा गर्ने।
(२) उपदफा (१) बमोजिमको दायित्व पूरा नगरेको वा कुनै वस्तुको उत्पादन, निर्माण, प्रशोधन, डिजाइन, सूत्र, तयारी, पैठारी, प्याकिङ्ग, लेबलिङ्गको क्रममा भएको कुनै त्रुटि, कमि कमजोरी (डिफेक्ट) को कारण त्यस्तो वस्तु वा सेवा उपभोग गर्दा कसैको जिउ, ज्यान, सम्पत्तिमा हानि, नोक्सानी भएमा त्यस्तो हानि, नोक्सानी बापत त्यस्तो वस्तु वा सेवाको उत्पादक जिम्मेवार हुनेछ र त्यस बापत क्षतिपूर्ति दिने दायित्व निजको हुनेछ।
तर,
(क) जुन वस्तु वा सेवाको उपभोगको कारण हानि, नोक्सानी पुगेको हो त्यस्तो वस्तुको वास्तविक उत्पादक हुनु पर्ने,
(ख) जुन वस्तु वा सेवाको उपभोग वा प्रयोगबाट त्यस्तो हानि, नोक्सानी पुगेको भनिएको हो सोही वस्तु वा सेवाको उपभोग वा प्रयोगबाट हानि, नोक्सानी पुगेको प्रत्यक्ष कारण पुष्टि भएको हुनु पर्ने।